नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

Posted on: 15 Jun, 2017

असार १, गौशाला । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । 

तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्माको नाम टुङ्गो लगाइएको छ । त्यस्तै बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो रहेका छन् भने गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी र उपप्रमुखमा सुशीला महतो रहेका छन् । 

काँग्रेसले जिल्लाको मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा खातुन, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामवती देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा विनिता देवी तिवारी, बलवा गाउँपालिकाको अध्यक्षमा विनोद यादव र उपाध्यक्षमा रामदुलारी ठाकुर, भंगहा गाउँपालिकाको अध्यक्षमा ओम यादव र उपाध्यक्षमा सकुन्तलादेवी थारुको नाम छटुङ्गो लगाएको सभापति रायले बताउनुभयो । 

त्यस्तै रामगोपालपुर गाउँपालिकाको अध्यक्षमा राजाराम यादव, सोनमा गाउँपालिकाको अध्यक्षमा नवल यादव, मनरा गाउँपालिकाको अध्यक्षमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको अध्यक्षमा शैलेन्द्र यादवको नाम छनौट गरिएको छ । 

ती छवटा गाउँपालिकाको उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको र आज बेलुकासम्म टुङ्गो लागिसक्ने उहाँले बताउनुभयो । 

माओवादी केन्द्र र नेकपा (एमाले) लगायत अन्य दलले भने आजसम्म पनि आफ्नो उम्मेदवारको टुङ्गो नलागिसकेको बताएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!