खेल्ने क्रममा भेटिएको विषादी सेवन गरेका एक बालकको मृत्यु

Posted on: 13 Nov, 2017

कात्तिक २७, महोत्तरी । सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ । 

गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ । 

त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचारकेन्द्रमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

प्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए । 

उनको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा ल्याएता पनि समयमै चिकित्सक नआएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँँबाट उदयलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!