अब दुई पार्टीविचको एकीकरण टार्ने अवस्था छैन: वाम नेता

Posted on: 09 Feb, 2018

माघ २६, बर्दिवास । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् । 

महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टुबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ’ विषयक प्रवचन कार्यक्रममा दुवै पार्टीका नेताले एकीकरणविरुद्ध अब दुवै पार्टी जान नसक्ने बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बहुदलीय लोकतान्त्रिक पद्धतिबाट आफ्नो श्रेष्ठता हासिल गर्दै नेपालका वामपन्थीले मुलुकको समृद्धि अभियानको नेतृत्व गर्ने बताउनुभयो । एमाले र माओवादी केन्द्र आबद्ध वाम गठबन्धन नेतृत्वको अब चाँडै बन्ने सरकारले मुलुकको स्वाधिनता र समृद्धि अभियानको अगुवाइ गर्ने नेता श्रेष्ठको भनाइ थियो । 

दुवै पार्टीका नेता र नेतृत्वदायी पार्टी कमिटी अहिले एमाले÷माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणको प्रयत्नमै केन्द्रित रहेका श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले समाजवाद, माक्र्सवाद र महान अक्टुबर क्रान्तिको सान्दर्भिकता कायम नै रहेको बताउनुभयो । अक्टुबर क्रान्तिका महान् उपलब्धि सोभियत संघको तत्कालीन सोभियत कम्युनिष्ट पार्टीभित्र ६० को दशकपछि हुर्केको स्वेच्छाचारी नेतृत्वका कारण रक्षा हुन नसकेको ज्ञवालीको भनाइ थियो । 

“लोकतान्त्रिक विधिबाट पार्टी निर्माण र शासन सञ्चालन हुन नसक्दा सोभियत युनियन र पूर्वी युरोपका समाजवादी व्यवस्था ढले” ज्ञवालीले भन्नुभयो–, “तर हामी नेपालका कम्युनिष्ट पार्टी र मुलुकको शासन व्यवस्था लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्ने कुरामा विश्वास र अभ्यास गरिरहेका छौँ, त्यसैले जनताको बीच छौँ ।” एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकीकरणले लोकतान्त्रिक पद्धति, राष्ट्रिय स्वाधिनता र समृद्धिको अभियान अझ मजबुत हुने ज्ञवालीको थप भनाइ थियो । 

समारोहमा माओवादी केन्द्रकै अर्का नेता (केही महिना पहिलेमात्र माओवादी केन्द्रमा एकीकरण भएको तत्कालीन नेकपा–संयुक्तका अध्यक्ष) गणेश साहले अब केही साताभित्रै वाम गठबन्धन नेतृत्वमा बन्ने सरकारले मुलुकको विकास र समृद्धि अभियान अघि बढाउने बताउनुभयो । 

दुवै पार्टीबीच अब एकीकरण हुनुहँुदैन भन्ने कार्यकर्ता अब भेटिन छाडेका बताउँदै उहाँले चाँडै पार्टी एकीकरण हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रम आधारशीलाका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो । 

१५ औँ वार्षिकोत्सव मनाएको आधारशीला माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसहितका नेताले स्थापना गरेर सञ्चालन गर्दै आउनुभएको कम्युन हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!