बर्षौदेखि फरार १९ प्रतिवादी प्रहरी फन्दामा

Posted on: 02 May, 2017

वैशाख १९, गौशाला । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो ।

स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान चलाएको छ ।

कुटपिट, जालसाजी, ठगी, चोरी, परीक्षामा अनियमित गतिविधिलगायत विभिन्न मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गरिएकामा १८ जनासँग जरिवाना असुल र एक जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!