सन्तान नभएको भन्दै आफ्नै श्रीमती हत्या गर्ने युवक पक्राउ

Posted on: 26 Jun, 2017

असार १२, गौशाला । पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज यहाँ एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । 

मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उनको बिहे भएको थियो । बिहे भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको तथा पत्नी मन नपरेको भन्दै सहनीले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन् । 

घाँटीमा गम्छाको पासो लगाई झुन्डएको अवस्थामा प्रहरीले शनिवार टिङ्की सुत्ने कोठामा उनको शव बरामद गरेको थियो । घटनापछि युवक सहनी, उनका आमाबुबासहित घरका सबै सदस्य फरार छन् । 

सहनी परिवारका सबै सदस्य फरार भएपछि स्थानीयले टिङ्कीको माइती पक्षमा खबर दिएपछि मृतकका बुबा जुगेश्वर सहनी र दाजु मनोज सहनी घटनास्थलमा पुगेर प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । 

फरार रहेका सहनी सामान लिन घर आएका बेला गाउँलेले उनलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् । पक्राउ परेका सहनीलाई हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!