महोत्तरीको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

Posted on: 21 Sep, 2017

असोज ५, महोत्तरी। बडा दशैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । 

वर्षमा एकपटक घटस्थापनादेखि दश दिनसम्म मात्रै खुल्ला रहने यो मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पनि पाउँदैनन् । तर दशैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी जिल्लाका विभिन्न ठाउँबाट यो मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन यहाँ आउने गर्छन् । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले माताको मन्दिर खुल्ने प्रतीक्षा वर्षभरी गरेका हुन्छन् । त्यसैले दशैँभरि त्रिशूली देवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । 

त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!