स्वास्थ्य मन्त्रीकै गृहनगरमा डेंगुको महामारी, परीक्षण गर्ने किट समेत छैनन्

Posted on: 11 Oct, 2017

असोज २५, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । 

उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिएका छन् । अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन् । 

यसरी दुई साताअघि पाँचजनाबाट शुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन् । 

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ । 

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ । 

तर अझै पनि बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा नआएर दिनानुदिन बढ्दै गएको देखेर स्थानीयलगायतका सम्पूर्ण जिल्लावासीमा चिन्ता बढ्दै गएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!