महोत्तरीमा लाखौंको लुटपाट, ७ जना घाइते, खबर पाएर पनि प्रहरी गएन

Posted on: 08 Sep, 2018

भदौ २३, महोत्तरी | महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा शुक्रबार मध्यरातको समयमा गोली प्रहार गरी  डाँकाहरुले लाखौंको धनमाल लुटेका छन् । समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए ।

झन्डै एक दर्जनको शंख्यामा आएका लुटेराहरुले गोली प्रहार गरि लुटेका हुन् । लुटेराहरुले नगद र गरगहनासहित करिव ८ लाख बराबर लुटेको पीडितले बताएका छन् । लुटेराहरुले गोली प्रहार गरेपछि पिडित परिवार डराएका थिए । गोलीको छर्रा लागेर लुटिएका घरधनि ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित, १८ वर्षीय दिपेन्द्र र अर्का एक जना आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । उनीहरुको उपचार बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

भुजेलको घरमा लुटपाट भईरहँदा नजिकै रहेको सशस्त्र र नेपाल प्रहरीलाई समेत खबर गरिएको तर प्रहरी घटनास्थल नगएको आरोप लगाइएको छ । प्रहरीले हातहतियारनै नभएको भन्दै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका हुन् । 

प्रहरीले लुटपाटबारे सोधपुछका लागि केहिलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनास्थलमा रातो कपडामा बेरिएको सुतली बम र तीन थान गोलीको खोका समेत फेला परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!