दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

Posted on: 15 Mar, 2019

चैत १, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । 

बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा बर्दिवासको कृषि, घरेलु हस्तकला र यहाँका धार्मिकस्थलको फोटोसहितको प्रदर्शनी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनका सुलभ व्यापारिक स्टल राखिने सङ्घले जनाएको छ । महोत्सवमा स्थानीय स्वादका खाना तथा खाजाका स्टलसँगै गीत, सङ्गीतसहित मनोरञ्जनको व्यवस्था गरिएको आयोजकले बताएका छन् । महोत्सवमा मुलुकका प्रसिद्ध कलाकारले गीत, सङ्गीतसहितका मनोरञ्जनात्मक प्रस्तुति पस्कने कार्यक्रम छ । 

स्थानीय कृषि उपजलाई बजार प्रवद्र्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । बर्दिवासका स्थानीय उत्पादनको प्रचार र बजार प्रवद्र्धन, यहाँका धार्मिकस्थलको परिचय र महत्व दर्शाउने वृत्तचित्र प्रदर्शनी एवं व्यापार प्रवद्र्धन महोत्सवको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बर्दिवास नगरक्षेत्रभित्र टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, लक्ष्मीनारायण र कामेश्वरनाथ महादेव मन्दिरसँगै पुरातात्विक महत्वको राईमण्डल धार्मिकक्षेत्र रहेका छन् । 

यहाँ निर्मित खुकुरी र यहाँ उत्पादन हुने उखुको सक्खर, रुखकटहरको फल, मौसमी बेमौसमी तरकारी फसल महोत्सवका प्रमुख आकर्षण हुने सङ्घले जनाएको छ । महोत्सवको अवसरमा बर्दिवास आइडल, खुला तथा एकल नृत्य प्रतियोगिता र बेहुली शृङ्गार प्रतियोगिता आयोजन गरिने महासचिव खतिवडाले जानकारी दिनुभयो । 

पूर्वपश्चिम राजमार्ग, विपी राजमार्ग, बर्दिवास सम्सी सडक र बर्दिवास जलेश्वर सडकको सङ्गम रहेको बर्दिवासमा आयोजना हुने महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!