महोत्तरीमा आगलागीबाट दश लाख क्षति

Posted on: 15 Mar, 2019

चैत्र १, महोत्तरी | जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो । 

बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बाख्रा–पाठा, भकारीमा राखिएको धान, मकैसहितको अन्नसँगै काठको गोठघर जलेर नष्ट भएको छ । फुँयालको गोठघर जल्दा रु तीन लाखभन्दा बढीको धनमाल नोक्सान भएको वडाध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । 

गोठमा कुँडो पकाएपछि राम्ररी ननिभेको आगो वा बाटो हिँड्नेले ननिभाई फ्याँकेको चुरोटको ठुटाबाट आगलागी भएको हुनसक्ने घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासको उद्धार टोलीले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीको प्रयत्नले नियन्त्रण भएको थियो । 

यसअघि मङ्गलबार जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बिजुली ठाकुरको पक्कीघरमा विद्युत् चुहिएर आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहनासहित रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको थियो । तराईमा प्रत्येक वर्ष चैत लागेसँगै बढ्ने आगलागीका घटनाले ठूलो धनजनको क्षति हुँदै आए पनि यसको नियन्त्रणको उपाय भने व्यवहारमा देखिन नसकिएको यहाँका सर्वसाधारणको गुनासो छ । जिल्लाका अधिकांश नगरपालिकामा अग्निनियन्त्रक दमकल नभएका र यसअघिदेखि दमकल रहँदै आएको जलेश्वर नगरपालिकाले मर्मत सम्भारमा ध्यान नदिँदा यसको उपयोग हुन नसकेको सर्वसाधारण बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!