महोत्तरी कारागार जलमग्न, कैदी/थुनुवाको बिचल्ली

Posted on: 15 Jul, 2019

असार ३०, महोतरी | लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदी/थुनुवालाई खान, बस्न र सुत्न निकै कठिनाइ भएको छ ।

विसं १९१३ मा तत्कालीन  प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गरेको १३५ कैदी/थुनुवा राखिने क्षमताको कारागारमा अहिले ५२८ जना छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबै कैदी/थुनुवालाई छ तल्लामा सारिएको छ । माथि खाँदिएर बस्नुपर्दा निकै असहज भएको कैदी/थुनुवाले बताएका छन् ।

“हजुर, छ दिनदेखि न राम्ररी खान पाएका छौँ, न निदाउन”,एकजना अधबैँसे कैदीले भने, “जेल काटेर घर फर्कन्छौँ भन्ने आश नै म¥यो ।”कारागारका पुरुष र महिलाका दुई छुट्टाछुट्टै कक्षमध्ये पुरुषकक्षमा अहिले ४७२ र महिलाकक्षमा तीन आश्रित बालबालिकासहित ४६ गरी ५२८ कैदी/थुनुवा छन् । क्षमताभन्दा बढी कैदी/थुनुवा न्यायिक निकायले पठाएपछि उनीहरुको व्यवस्थापनमा असजिलो हुँदै आएको कारागार प्रशासनले जनाएको छ । 

“कैदी/थुनुवाको चापले समस्या पहिलेदेखि नै थियो”,कारागार प्रमुख (जेलर) मकसुधन महासेठले भन्नुभयो, “पछिल्लो पटक पाँच दिनदेखिको अविरल वर्षाले त अस्तव्यस्त नै भएका छौँ ।”कैदी/थुनुवा मात्र नभएर कारागारका कर्मचारी र सुरक्षाकर्मीलाई उभिनसमेत ओभानो ठाउँ नभएको कारागार प्रमुख महासेठको भनाइ छ ।महोत्तरी र धनुषाको संयुक्त कारागार रहँदै आएको यहाँ धनुषाकै कैदी/थुनुवा बढी रहेका छन् । एक सय ६३ वर्ष पुरानो कारागार भवनले त्यसयता राम्ररी मर्मतसम्भार नपाउँदा छत तथा भित्ताका इँट्टा र सिमेन्टका टुक्रा झरिरहेर बसाइ सधैँ डरमर्दो हुने गरेको कैदी/थुनुवा बताउँछन् । कारागारमा शौचालय र खानेपानीका धारा चार/चार वटा मात्र सञ्चालनमा रहँदा दिसापिसाब गर्न र नुहाइधुवाई लागि घण्टौँ पालो पर्खनुपर्ने अवस्था रहेको कैदी/थुनुवाको गुनासो छ । सरसफाइ राम्रो हुन नसक्दा धेरैजसो कैदी/थुनुवालाई छाला चिलाउने समस्या रहेको उनीहरुको भनाइ छ ।

यसैबीच मानवअधिकार क्षेत्रमा कार्यरत इन्सेकका  जिल्ला प्रतिनिधि अजयकुमार साहले कैदी/थुनुवाको बसाइ, खानपिन र उपचारसहितको प्रबन्धसँगै सुरक्षित आवासको प्रबन्धमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!