घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

Posted on: 11 Oct, 2019

असोज २४, महोत्तरी | आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार, युवक मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएको थियो । 

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकै बेला उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!