महोत्तरीमा एक थान पेस्तोल सहित पाँच राउन्ड गोली बरामद

Posted on: 06 Dec, 2019

मंसिर २०, महोत्तरी | महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ | सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार लचका पुलमुनि रहेको खरबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरिएको हो |

आज बिहान साढे १० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले पुलमुनिको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजिक गएर हेर्दा त्यहाँ पेस्तोल फेला परेको अधिकारीले बताए | अधिकारीका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो |

बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!