महोत्तरी : नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन

Posted on: 17 Jul, 2021

साउन २, महोत्तरी (रासस) । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ ।

भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराउनुभएको हो ।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिनुभयो ।

“नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भन्नुभयो, “ अब मासिक रु ६० हजार बचत हुने भयो ।”

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।

नयाँ आव २०७८÷०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!