चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु

Posted on: 18 Oct, 2020

कार्त्तिक २, मकवानपुर । मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति  कार्य शुरु भएको छ । 

चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले रु १३ करोड उपलब्ध गराएको छ । 

दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताउनुभयो । चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख गर्नुभयो ।   

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!