कुनैपनि हालतमा सिन्डिकेट अन्त्य गरेरै छाड्छौं: मन्त्री थापा

Posted on: 01 May, 2018

वैशाख १८ काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले यस्तो बताएका हुन् | 

उनले भने "छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको छ, यस्ता अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध छ।"

नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको भन्दै उनले विकासको बाधक मानिएका भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई अन्त्य गर्न जरुरी रहेको पनि बताए ।

सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियान कुनै पनि अवस्थामा नरोकिने भन्दै गृहमन्त्री थापाले सिन्डिकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  "सिन्डिकेटलाई सहयोग गर्ने सबैलाई कारबाही गर्छौ।" उनले भने |

राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको पनि उनले बताए ।

स्थायित्वका लागि सुदृढ वामशक्ति आवश्यक रहेको भन्दै थापाले एमाले र माओवादी एकतापछि देशको राजनीतिक स्थायीत्वलाई थप सुदृढ हुने पनि बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!