राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको कमल थापाको आरोप

Posted on: 08 Jun, 2018

जेठ २५ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताउनुभएको छ । 

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने बताउनुभयो । नेपालको विकास गर्न धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन भन्ने वैचारिक कित्तामा राप्रपा अडिग भएको र धर्म संस्कृतिलाई नष्ट गर्नुपर्छ भन्ने वैचारिक कित्तामा नेपाल कम्युनिष्ट पार्टी भएकोले यही वैचारिक कित्ताबीच अब संर्घष हुने उहाँको धारणा थियो ।

अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने औंल्याउनुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश नं. ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो भनेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गर्नुभयो । अब निराशाको चरण समाप्त भइसकेको भन्दै अध्यक्ष थापाले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशन दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले युवा पुस्ताको साथ सहयोग र समर्थन लिएर राष्ट्रियता, हिन्दुत्व, प्रजातन्त्र र आर्थिक समृद्धिको एजेन्डा लिएर राप्रपा आन्दोलनमा जाने स्पष्ट पार्नुभयो । उपाध्यक्ष तामाङले आफु बुद्धिष्ट भएपनि देशको पहिचानको रक्षाको निमित्त हिन्दु राष्ट्रको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद रिता माझी, राप्रयुसंका अध्यक्ष प्रकाश रिमाल, युवा नेताहरु मधु अधिकारी, निरन्जन थापा, बिनोद भारती, शुक्र प्रजालगायतले सम्बोधन गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!