प्रदेश ३ को विनियोजन विधेयकमाथि छलफल सुरु

Posted on: 30 Jun, 2018

असार १६, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिनुभयो । 

प्रदेश सरकारले गत असार १ गते आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमानित आय व्यय (बजेट) प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । 

छलफलमा सहभागी सदस्यले समानुपातिक र समन्यायिक विकास तथा गरिबी न्यूनीकरण गर्ने खालका आर्थिक प्याकेजलाई बजेटमा समावेश गर्नुपर्ने बताउँदै जननिर्वाचित सरकारले निष्पक्षता र पारदर्शीतामा जोड दिई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँहरुले मन्त्री पदमा बसेकाले आफ्नो जिल्लालाई केन्द्रविन्दुमा राखेर बजेट छुट्ट्याइएकोमा गुणासो गर्नुभयो । 

यसरी छलफलमा सहभागी हुने सदस्यहरुमा पशुपति चौंलागार्इं, गीता वाग्ले, रमेश पौडेल, विशाल खड्का, रिना गुरुङ, नारायणबहादुर सिलवाल, भीमसेन खत्री, कमलबहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाईं, डा राजाराम कार्की , प्रेमबहादुर थापा, योगेन्द्र संग्रौला, निमा लामा, सन्तबहादुर प्रजा, दिनेश मर्हजन, नरोत्तम वैद्य, छिरिङ दोजे्र्र लामा र प्रेमबहादुर पुलामी हुनुहुन्छ । 

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते विहान ११ बजे बस्नेछ । 

भोलिको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि र सहकारी तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत छलफल हुने कार्यक्रम रहेको प्रदेशसभाका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!