विभाजित अवस्थामा रहेको राप्रपाबिच एकता हुन सक्छ: बर्तौला

Posted on: 22 Mar, 2018

चैत्र ८, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिभाजित अबस्थामा रहेको राप्रपाबिच एकता हुन सक्ने बताएका छन् । 


मकवानपुरको छतिवन ,फापरबारी र राईगांउमा आयोजित छुट्टाछुट्टै कार्यकर्ता भेलामा बोल्दै बर्तौलाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण अहिले मुलुकको अपरिहार्य आबश्यकता भएको बताए ।

पछिल्लो समय पार्टी नेतृत्वलाई बदनाम गराउन षडयन्त्र मुलक ढङ्गले अफबाह फैलाइएको प्रती उनको आक्रोश थियो । शिर्ष नेतृत्वको मान मर्दन गर्ने, घृणा फैलाउने र नीति,सिद्धान्त परित्याग गर्यो भनेर स्यालहुईया मच्चाउनेहरु कतैबाट परिचालित भएको र यसमा निकै ठुलो षडयन्त्र रहेको आशंका समेत उनले गरे । 

हिजो पार्टी फुटाउन र कमजोर बनाउन भूमिका खेल्नेलाई आज बलियो राप्रपा हेर्ने दिब्यज्ञान कहाँ बाट  प्राप्त भयो ? बर्तौलाले प्रश्न गरे । “कोहि कोहि कुना पसेर एकताको नाममा गोहिको आँसु चुहाउदै छन् त्यसको अर्थ छैन । अबको पार्टी एकता भावनात्मक हुनुपर्छ,दिगो हुनुपर्छ । कार्यकर्ता भाबनात्मक एकताको पक्षमा छन् । कृत्रिम एकताको अर्थ छैन ।“ सहायक महामन्त्री बर्तौलाको भनाई थियो । कार्यक्रममा केन्द्रिय सदस्य नबराज बिष्ट ,गुरु प्रसाद सापकोटा ,दिल बहादुर बल लगायतले बोलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!