शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ

Posted on: 24 Nov, 2017

मङ्सिर ८, मकवानपुर । अबैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ ।

शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश गरेको हो । खानीमा उत्खनन् गर्नका लागि विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कार्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । 

उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको छ । जिल्ला वन कार्यालय मकवानपुरको टोलिले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको जनाईएको छ ।

शिवमले संचालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक वडामा रहेको जनाईएको छ । जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरेपनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाईमा संलग्न भएको आशंका गरेका थिए । स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!