पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको मृत्यु, एक सेना घाइते

Posted on: 27 Mar, 2020

चैत १४, काठमाडौँ | देशभर लकडाउन चलिरहँदा त्यसैको मौका छोपेर वन्यजन्तुको सिकार गर्न पर्सा निकुञ्जको महादेवखोला क्षेत्र पुगेका तस्करहरु र गस्तीमा रहेको नेपाली सेनाबीच गोली हानाहान भएको छ । त्यस क्रममा एक तस्करको ज्यान गएको छ । एक नेपाली सेना घाइते भएका छन् । 

शुक्रबार बिहान करिब साढे नौ बजे गस्तीमा रहेको सेना र निकुञ्जको संयुक्त टोलीले महादेवखोला क्षेत्रमा ११ जना तस्करको समुहलाई देखेको थियो । त्यसपछि तस्कर समुह र सेनाबीच गोली हानाहान भएको थियो। गोली हान्ने क्रममा निकुञ्जको संरक्षणमा खटिएका सिद्धिबक्स गणका जमदार मिमबहादुर छन्त्याल घाइते भएका छन् । 

घाइते सेनाको वीरगन्जमा उपचार भइरहेको छ । तस्कर समूहको एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन । पक्राउ पर्ने हेटौंडा उपमहानगरपालिका १३ का मोहनसिंह दोंग हुन् ।

सेनाले सिकारी समूहबाट दुई थान भरुवा बन्दुक, गोलीगठ्ठा, अन्य हतियारसमेत बरामद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!