पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार, पदमार्गको नक्साङ्कन

Posted on: 04 Jul, 2020

असार २०,मनाङ । गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्न पदमार्गको नक्साङ्कनमा जुटेको छ । गुरुयोजनामा छुटेकास्थलको पाँच जिल्लासँग जोड्दै पदमार्ग निर्माण लागेको हो । प्रदेशले गण्डकी प्रदेश पर्यटन गुरुयोजना निर्माण जिल्लास्तरीय दोस्रो चरणको गोष्ठी तनहुँमा गरेको छ ।

 मनाङलगायत लमजुङ, गोरखा, तनहुँ र नवलपुरको पर्यटकीय गन्तव्यको पहिचान र छुटेका स्थललाई पदमार्गमार्फत जोड्न गोष्ठी गरिएको गण्डकी प्रदेशका अधिकृत जगनिवेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा पदमार्ग निर्माण गर्न सहज हुने भएकाले पाँच जिल्लाका स्थानीय तहबाट सहभागिता रहेको थियो । मनाङका छुटेका पर्यटकीयस्थलको समावेश गरिएको नासाें गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “छुट्नै नहुने क्षेत्रको छुटेकाले यस कार्यक्रमले जोडेको छ”, उहाँले भन्नुभयो । 

पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा स्थानीय तहका प्रमुखहरुलाई विशेष जानकारी हुने भएकाले पनि नयाँ गन्तव्यको नक्साङ्कनमा उनीहरुलाई समावेश गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पदमार्ग पहिचान र नक्साङ्कन गरिएको जनाइएको छ । प्रदेशको पर्यटन विकासको विद्यमान अवस्था, प्रमुख समस्या, अवसर तथा चुनौतीहरुको विश्लेषण, गण्डकी प्रदेशमा पर्यटन विकास र व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि २५ वर्षे रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाकासहितको प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्ने उद्देश्य रहेको जनाएको छ । 

प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रमाणीकरण तथा नक्साङ्कन, उपलब्ध पर्यटकीय पूर्वाधार तथा सेवा सुविधाको अध्ययन तथा विश्लेषण, गन्तव्यहरुबीचको अन्तरसम्बन्धको अध्ययन तथा विश्लेषण गर्नका लागि गोष्ठी गरिएको अधिकृत भण्डारीले बताउनुभयो । पर्यटन पूर्वाधार तथा सेवाहरु (पहुँच, बसोबास, पर्यटकीय सुविधा, आकर्षण तथा गतविधि)को अवस्थाहरुबारे अध्ययन तथा विश्लेषण गरिने जनाइएको छ ।  

त्यस्तै पर्यटन क्षेत्रमा कार्यरत तथा उपलब्ध जनशक्ति सर्वेक्षण, आवश्यक जनशक्ति पहिचान, जनशक्ति व्यवस्थापन तथा सीप विकाससम्बन्धी रणनीति तथा कार्यक्रम तयार गर्न सहज हुनेछ । पर्यटन (आन्तरिक तथा बाह्य) को अध्ययन तथा स्थिति विश्लेषण, पर्यटकीय वस्तु तथा उपजको प्याकेजिङ तथा स्थिति विश्लेषण गर्ने योजनासहित कार्यक्रम गरिएको हो । 

पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कन, पर्यटन प्रवद्र्धनमा तीन तहगत सरकार (सङ्घ, प्रदेश र स्थानीय निकाय) तथा निजी क्षेत्रको भूमिका तथा ब्राण्डिङ योजनासहित प्रदेश अगाडि बढेको भण्डारीले बताउनुभयो । टोलीनेता योगेशपूर्ण सिंहले पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा अन्य सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कनको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा गोष्ठीमा पाँच जिल्लाको पर्यटन गुरुयोजना निर्माणका सम्बन्धमा छलफल र योजना निर्माण गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!