मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

Posted on: 26 Nov, 2017

मङ्सिर १०, पोखरा । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । 

चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् । 

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् । 

यस्तै मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो । 

निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का गरी आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!