मनाङका ६ विद्यालयमा विद्यार्थी छैनन्

Posted on: 18 Dec, 2017

पुस ३, मनाङ । हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । 

तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । 

स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर जाने प्रचलन बढ्दो छ । अहिले गाउँघरमा काम गर्ने मजदुरका बालबालिका मात्र रहेन र उनीहरुबाट मात्रै विद्यालय धान्न मुस्किल नसकिने तिलिचो आधारभूतका प्रधानाध्यापक यमप्रसाद तिमल्सिना बताउनुहुन्छ । 

गत शैक्षिक सत्रसम्ममा २६ जना विद्यार्थी रहेको यस विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चारजना विद्यार्थी रहेका छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र तिनीहरु पनि कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने बताइन्छ । 

यस्तै, समस्यामा गुुज्रिएको टंकी आधारभूत विद्यालय पनि हो । यो विद्यालय त अहिल्यै विद्यार्थीविहीन भएको छ । छजनाको दरबन्दी रहेको यो विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ । 

यस्तो समस्या किन भयो भन्ने प्रश्नमा स्थानीय बासिन्दाका बच्चा गाउँमा नराख्ने र सबै गोर्खाली, धादिङ्गे कामदारका बच्चा विद्यालय भर्ना हुन आउने तर अभिभावकसँग उनीहरु कामको सिलसिलामा ठाउँठाउँमा बसाइँ सर्ने भएका कारण यस्तो समस्या आएको टंकी आधारभूतका प्रअ लोकबहादुर सुवेदीले जवाफ दिनुभयो । 

थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि जिल्ला शिक्षा कार्यालय नरहने हुँदा स्थानीय निकायले विद्यालय व्यवस्थापन कसरी गर्छ भन्ने चासो उब्जिएको पाइन्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!