मनाङको तापक्रम माइनस १६ डिग्री

Posted on: 08 Jan, 2018

पुस २४, मनाङ ।  देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।



रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । 


अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । 


बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । 


जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडाँै, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!