बेसीशहर–चामे सण्डक खण्ड अवरुद्ध

Posted on: 10 Sep, 2018

भदौ २५, बेसीशहर | आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिरोबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ । 

बेसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । 

सदरमुकाम बेसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले स्थानीय तथा पैदलयात्रुलाई सजग रहन आग्रह गरिएको बताए ।

“पहिरो खसेको थाहा पाउनासाथ प्रहरी परिचालन गरेका छौं । पैदलयात्रुले यात्रा गर्न पाएका छैनन् । बेसीशहर खण्ड र मस्र्याङ्दी गाउँपालिका खण्डमा (पहिरो गएको स्थान नजीकै ) प्रहरी परिचालन गरेका छौँ”, उनले भने, “पहिरो रोकिनासाथ सडक खुलाउछौँ ।” 

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ भने पदैलयात्रुलाई समेत सास्ती भएको छ ।

प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत वर्ष पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ भने माथिबाट पहिरो खसिरहेको छ । 

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्घचाए पनि सुनुवाइ नभएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!