विदेशी नागरिक मनाङबाट आफ्नो देश फर्किन मानेनन्

Posted on: 05 Apr, 2020

नविन लामिछाने | चैत २३, मनाङ | यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार  ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन,  इजरायल लगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ  । आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम  नेपालमा कम भएकाले  ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।

तिलिचो वेसक्याम्पतिर  कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताउनुभयो । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उहाँले भन्नुभयो । सो भाइरसको जोखिम नेपालमा  कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । “हामी नेपालमा सुरक्षित छौँ ।” उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!