प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य, ११ विधेयक पारित

Posted on: 09 May, 2018

–प्रभाष झा/मनोज दाहाल | वैशाख २६, विराटनगर | प्रदेश नं १ को पहिलो प्रदेशसभा अधिवेशन ११ वटा विधेयक पारित गर्दै आजदेखि अन्त्य भएको छ । 

यससम्बन्धी प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्वाहाङबाट प्राप्त पत्र सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाउनुभएको थियो । अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ । 

प्रदेशसभाको पहिलो बैठक गत माघ २२ शुरु भएको थियो । 

प्रदेशसभामा उठाइएका विषयमा सरकार गम्भीर छः मुख्यमन्त्री 

प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र प्रदेशसभाले राम्रो गतिका साथ कार्य गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेशसभाले तीन महिनाको अवधिमा ११ विधेयकहरु पारित गर्नुका साथै धेरै उपलब्धिहरु प्राप्त गरी यस बिन्दुमा पु¥याउन सफल भएको छ ।” 

ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवसर पहिलोपल्ट पाएकाले हामीहरु शौभाग्यशाली छौँ । त्यसैले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्न सक्षमताका साथ एक भएर लाग्नु पर्दछ ।” 

प्रदेशसभामा सहकार्य र समझदारीको संस्कृतिका कारण थोरै समयमा प्रदेशसभा र सरकारले गति लिन सकेको भन्दै मुख्यमन्त्री राईले सकारात्मक भूमिका निर्वाह गरेकामा प्रमुख प्रतिपक्ष दललगायत अन्य नेताहरुप्रति आभार प्रकट गर्नुभयो । 

राष्ट्रिय एकता र अखण्डतालाई सर्वोेपरी राख्दै पारस्पारिक सहयोगको मान्यताका साथ प्रदेश सरकारले काम गर्ने अठोट पनि उहाँले व्यक्त गर्नुभयो । 

प्रदेश १ चिया, लालीगुराँस र रुद्राक्षको राजधानीका रुपमा पहिचान पनि हुने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो – “धार्मिक, सांस्कृतिक सम्पदा हामीसँग रहेकाले सबै प्रदेशसँग प्रतिस्पर्धा गर्दे श्रेष्ठता हासिल गर्न तत्पर हुनु पर्दछ ।” 

उहाँले शून्य र विशेष समयमा उठाइएका महत्वपूर्ण विषयमा सरकार गम्भीर रहेको जानकारी गराउनुभयो । 

पर्यटन तथा धार्मिक क्षेत्रको विकास, बेरोजगारी समस्या, नदीमा तटबन्ध निर्माणका साथै १०० दिनको कार्यक्रमलाई पूरा गर्न प्रदेश सरकार अग्रसर रहेको पनि उहाँले बताउनुभयो । 

११ विधेयक पारित 

प्रदेशसभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि विधेयक), गाउँसभा र नगरसभा सञ्चालन (कार्यविधि) विधेयक २०७५ पारित गरेको थियो । 

यसैगरी, आकस्मिक कोष सञ्चालन विधेयक २०७५, जिल्लासभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि यो अधिवेशनबाट पारित भयो । 

अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले राजनीतिक परिवर्तनको अनूभूति जनताले पाउन एकद्वार नीतिबाट सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुभयो भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले जनताका सुझावलाई केन्द्रबिन्दुमा विकास योजना अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!