स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई छुट हुदैन: मन्त्री बाँस्कोटा

Posted on: 30 Jun, 2018

असार १६, विराटनगर | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको बताउनुभएको छ । 


नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध छ ।” 

मन्त्री बाँस्कोटाले स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै पत्रकारिता क्षेत्र अझ बढी मर्यादित, व्यवस्थित एवं जीवन्त हुनुपर्छ भन्नुभयो । 

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै उहाँले सरकार सुशासन कायम राख्न रु भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले विधिको शासन र संविधानको सर्वोच्चता हाम्रो मान्यता भएकाले यसमा कसैले पनि शंका गर्न नहुने उल्लेख गर्दै पूर्वाग्रही ढंगले आलोचना गर्नुभन्दा विकासको काममा सरकारसंग सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो । 

आगामी १८ महिनाभित्र मुलुकभरि नै नेपाल टेलिकमका फोर जी सेवा लागू भइसक्ने बताउँदै उहाँले विज्ञापन र आमसञ्चार सम्बन्धी बनेका कानून परिमार्जन हुँदै जाने पनि स्पष्ट पार्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!