श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ: नेता सिटौला

Posted on: 01 May, 2019

वैशाख  १८, विराटनगर | नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । 

नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि कसैले पनि प्रहार गर्नु राम्रो होइन भन्दै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गर्नुभयो ।

काङ्गे्रसका केन्द्रीय सदस्य अमृत अर्यालले मुलुकको हरेक आन्दोलनलाई उचाइमा पु¥याउन मजदूरको भूमिका अग्रणी छ भन्दै मजदूरको मागलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । 

 नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव ज्योति कोइरालाले उत्पादन र उत्पादकत्व बढाउन मजदूरको माग पूरा हुनुपर्छ भन्नुभयो । प्रदेश नं १ प्रदेशसभा सदस्य एवं काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले असङ्गठित मजदूरको माग सम्बोधन नभइरहेकाले उनीहरु श्रमशोषणको शिकार भइरहेको चर्चा गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले श्रमिक ऐन–२०७४ पारित भए पनि मजदूरका समस्या समाधान हुन नसक्नु दुःख लाग्दो छ भन्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, मजदूर नेता श्रीप्रसाद साह, बेनु सिग्देल र नारायणबाबु कार्कीले पनि राष्ट्रको अर्थतन्त्रका ठूलो भूमिका निर्वाह गर्ने मजदूरको समस्यामा सरकार गम्भीर बन्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!