जुडी खोलामा पुल नबन्दा स्थानीयलाइ सास्ती

Posted on: 15 Dec, 2016

मंसिर ३०, मोरङ । भौडाहा गाविस शीतपुरस्थित जुडी खोलामा पुल नबन्दा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । 

सात वर्षअघि सो पुलका लागि सरकारले बजेट विनियोजन गरेको थियो । तर अहिलेसम्म उक्त पुल निर्माण हुन सकेको छैन । आव २०६६÷६७ मा रु दुई करोड ४० लाखको लागतमा सो पुल निर्माणका लागि खाम्पाटे, धुलिखेल र हिमालयन कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । 

हिमालयनले केही समय काम गरेर छाडेपछि खाम्पाटे र धुलिखेल कन्स्ट्रक्सनले निर्माण कार्यको थालनी गरेको सो कम्पनीका प्रतिनिधि रञ्जीत नेपालले बताउनुभयो । चालु आवको अन्त्यसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । हिमालयन कन्स्ट्रक्सनको लापरबाही र नियमनकारी निकाय सुनसरी–मोरङ पुल योजनाको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । 

करिब छ वर्षअघि निर्माण कार्य सुरु भएको हो । स्थानीयवासी जितनारायण सरदार वर्षायामा पुल नभएका कारण सास्ती खप्नु परिरहेको बताउनुहुन्छ । “बालबालिका विद्यालय जान सक्दैनन्,” उहाँले भन्नुभयो । 

गाविसको सहयोगमा बर्सेनि सो खोलमा वैकल्पिक रुपमा बाँसको पुल निर्माण गरिँदै आएको छ । तर बाढीले बर्सेनि बगाउने गरेको छ । सुनसरी–मोरङ पुल आयोजनाका प्रमुख कैलाश शाहले ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य ढिलो भएको बताउनुभयो । चालु आवभित्रमा सो पुल निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही गरिने उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!