विराटनगरको वरगाछी–रोडशेष सडक कालोपत्र हुने

Posted on: 18 Nov, 2017

मङ्सिर २, विराटनगर (रासस) | विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ । 

महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ मी चौडा सडकमा द्रुत गतिमा कालोपत्र गर्ने सहमति भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । 

उक्त सडक कालोपत्र भएसँगै महानगरवासीलाई आवतजावत तथा सवारी सञ्चालनमा केही हदसम्म सहज हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्ने सम्बन्धमा भएको छलफलमा महानगर प्रमुख पराजुली, प्रशासकीय प्रमुख प्रदीप निरौला, इ घनेश्याम काफ्ले र इ हर्क प्रधान तथा छ लेन सडक परियोजनाका प्रमुख विनोदकुमार मौवार रहनुभएको थियो । 

महानगरपालिकाले परियोजनाका काममा समन्वय गर्न इ काफ्ले र परियोजनाका तर्फबाट इ प्रधानको रहने गरी दुई सदस्यीय टोलीसमेत गठन गरेको छ । पटक पटक व्यापारिक मार्ग विस्तार आयोजनाका पदाधिकारीलाई महानगरले समस्या समाधान गर्न आग्रह गरेको थियो । . लामो समयदेखि समस्या समाधान नभएपछि महानगरले खाल्टाखुल्टी पुर्ने र सडकमा वारुणयन्त्रद्वारा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ । 

- फाइल तश्विर

यस बिषयमा तपाइको प्रतिक्रिया...!