मोरङमा भएको विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

Posted on: 19 Feb, 2018

फागुन ७, उर्लाबारी, मोरङ (रासस) | विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । 

शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने हाइड्रोलिक जेबिबी, डोजर, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीमा राखिएका मध्ये बोटानिकल गार्डेन र स्मार्टसिटी दर्शकले निकै मन पराएको विद्यालय सञ्चालक रबिन कन्दङ्वाले बताउनुभयो । 

पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकाका–१० वटा निजी विद्यालयबाट आएका विद्यार्थी र आयोजक एभरेष्ट विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावक गरी पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताउनुभयो । कक्षा युकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जना २३ वटा स्टलमा राखिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!