मोरङमा घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारको निधन

Posted on: 22 Jun, 2017

असार ८, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । 

छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी रहेको र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका जङ्ग तामाङले जानकारी दिनुभयो । 

विसं २०४६ देखि नै नेपाली काँग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने बताउनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!