मोरङमा चुनावी प्रचारप्रसारमा तीव्रता

Posted on: 23 Jun, 2017

असार ९, विराटनगर । निर्वाचनको तिथि नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । 

प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न घरदैलो, चुनावीसभा, कोणसभालगायतका कार्यमा जुटेका छन् । 

विराटनगर महानगरपालिकामा चुनावी सभा, ¥यालीका साथै घरदैलो कार्यक्रममा सक्रिय विभिन्न राजनीतिक दलले आ–आफ्ना योजनाका साथ मतदाताको मन जित्न लागिपरेका छन् । 

महानगरपालिको निर्वाचनमा नेपाली काँग्रेस र राप्रपा एकल रुपमा निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख र उपप्रमुख पदका लागि नेकपा(एमाले) र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल संयुक्त रुपमा चुनावी मैदानमा छन् । 

यस्तै, प्रमुख र उपप्रमुख पदका लागि सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र) संयुक्त रुपमा चुनावी मैदानमा उत्रेका छन् । यी चार पार्टीबीच भएका गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना प्रवल भएको बताइएको छ । 

नेपाली काँग्रेसले कुनैपनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरको १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अन्य दलले पनि सोही अनुरुपमा वडामा उम्मेदवारी दर्ता गराएका हुन् । 

पार्टीको अवस्था मजबुत रहेका कारण कुनैपनि दलसँग गठबन्धन नगरेको नेपाली काँगे्रसका नेता बताउँछन् । एक लाख १४ हजार मतदाता रहेको विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधार भन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने यहाँका विश्लेषको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!