प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

Posted on: 12 Feb, 2018

माघ २९, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । 

यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहनुभएका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो । 

ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक ओमप्रकाश सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एकमात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गर्नुभयो । 

प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रदीपकुमार भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६(१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुभयो । 

सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गर्नुभयो । 

प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । 

प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा शुरु भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको थियो । प्रदेशसभाको दोस्रो बैठक आजै अपराह्न ४ बजे फेरि बस्नेछ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!