मोरङमा माछा जोन कार्यक्रम सुरु

Posted on: 22 Mar, 2017

चैत ९, मोरङ । मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । 

कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृषकले पोखरी खन्न सुरु गरेका हुन् । दर्बेशामा १६ जना किसानले समूह बनाएर आफूहरुले धान लगाउँदै आएको खेतमा पोखरी खनेर माछापालन गर्न थालेको सो समूहका सदस्य रत्न आचार्यले बताउनुभयो । 

प्रतिव्यक्ति १० हेक्टरको १६ पोखरी खन्ने काम भइरहेको उहाँको भनाइ छ । आचार्यले भन्नुभयो, “हामी सबैले कम्तीमा १० हेक्टरमा पोखरी खनेर व्यावसायिक माछापालन गर्ने योजनाका साथ काम भइरहेको छ ।” 

जिल्ला कृषि विकास कार्यालय प्रमुख यादवले जिल्लामा पाँचसय हेक्टरमा व्यावसायिक माछापालन भइरहेको प्रधानमन्त्री माछा जोन कार्यक्रमअन्तर्गत थप पाँचसय हेक्टरमा माछापालन गर्ने योजनाअन्तर्गत काम भइरहेको बताउनुभयो । 

मोरङका माछापालक कृषकलाई गत वर्ष रु एक करोड ५० लाख अनुदान प्रदान गरिएको थियो । यो वर्ष पनि जिल्ला कृषि विकास कार्यालयबाट रु एक करोड ५० लाख विभिन्न अनुदान दिने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!