बाढी प्रभावित क्षेत्रमा एमालेको स्वयम्सेवक टोली

Posted on: 18 Aug, 2017

भदौ २, मोरङ । अविरल वर्षापछि आएको बाढीले पूर्णरुपमा विस्थापितलाई पुनःस्थापना गराउन नेकपा (एमाले) मोरङले आजदेखि स्वयम्सेवक टोली परिचालन गरेको छ । 

स्वयम्सेवकले बाढीबाट क्षति भएका घरको पुनःनिर्माण, मर्मतसम्भार तथा मरेका पशुपक्षीको व्यवस्थापन गर्ने एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो । अभियानको प्रारम्भ विराटनगर–१ स्थित परोपकारघाट आसपासबाट सुरु भएको छ । 

त्यस क्षेत्रमा बाढी पस्दा दर्जनौँ घर पूर्ण रुपमा डुबेका थिए । बाढी घटेपछि मरेका पशुपक्षीको दुर्गन्ध फैलँदा विभिन्न प्रकोप फैलन सक्ने जनाई स्वयमसेवकलाई सोही क्षेत्रबाट परिचालन गरिएको छ । 

राहत वितरण 

रतुवामाई नगरपालिका–५ गोविन्दपुरका बाढीपीडितलाई अनेरास्ववियु इलामले आज रु चार लाख बराबरको राहत वितरण गरेको छ । अनेरास्ववियुका अध्यक्ष ईश्वर तामाङका अनुसार खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल, प्राथमिक उपचारका सामग्रीलगायत वितरण गरिएको हो । 

बाढीपिडितको सहयोगका लागि अनेरास्ववियुले जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी रतुवामाई–५ का वडाध्यक्ष कन्हैयालाल राजवंशीलाई हस्तान्तरण गरेको हो । सांसद ऋषिकेश पोखरेल, जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेललगायतले राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!