मुस्ताङमा स्याउ उत्पादन बढ्यो

Posted on: 07 Sep, 2017

भदौ २२, मुस्ताङ। मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । 

गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिनुभयो । 

कोवाङ, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टरमा स्याउ खेती गरिएको छ । करिब ३७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउ खेती गरिएको छ । 

गत वर्ष रु २३ करोड मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैँचामा फलेका स्याउ व्यापारीले अग्रिम पैसा दिएर खरिद गरिसकेका छन् । बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौँ, चितवनलगायत जिल्लाबाट व्यापारी आएर बगैँचाबाट टिप्नुअघि नै बोटमै खरिद गर्ने गरेका थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनले बताउनुभयो । उहाँले रु ३० लाखमा बगैँचा नै ठेक्कामा दिएको बताउनुभयो । 

“उत्पादनमा सुधार आएको छ । व्यापारीको घुइँचो लागेको छ”, उहाँले भन्नुभयो । भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउले बजार पाएको छ । 

विसं २०६४ मा बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि किसानको उत्साह र जाँगर बढेको छ । बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौती बनेको मार्फा शीतोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैनन् । कृषकले खेती विस्तारसँगै बगैँचा र रोगकिराको व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकारी बताउनुहुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!