मुस्ताङमा यस वर्ष चार हजार मेट्रिक टन स्याउ उत्पादन

Posted on: 29 Sep, 2016

असोज १३, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । 

लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पु¥याइसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ । 

जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । “बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,” वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भन्नुभयो । जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ । 

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेटलगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् । यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो रु ८० देखि रु १०० मा स्याउ बिक्री गरेका छन् । यहाँका किसानले स्याउबाट बर्सेनि रु एक लाख देखि रु एक करोडसम्म आम्दानी गर्दै आएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!