आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै

Posted on: 20 Mar, 2017

चैत ७, मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । 

चार वर्षअघि टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । 

धौलागिरि आइसफल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष धुव्र पाइजाले तीन वर्षमा रु तीस लाख बराबरको काम गरिएको जानकारी दिनुभयो । 

“१५ किलोमिटरभन्दा बढी पदमार्गको ट्रयाक खोलेका छौँ । सोवाङधुरीसम्म जान सकिने भएको छ । कालीबराह पु¥याउन सकियो भने पदमार्गको सबै काम सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार, यो काम यसै वर्ष सकिनेछ । 

पदमार्गको अन्तिम बिन्दु त्यही कालीबराह नै हो । त्यहाँबाट धौलागिरि, मानापाथीलगायतका हिमालबाट निरन्तर हिउँ झरेको देख्न सकिन्छ । कालीबराहबाट कुइनेमङ्गलेको छरीखानी झर्ने र मुस्ताङको लेते निस्कन पनि सकिन्छ । “समुद्री सतहदेखि ५५२५ मिटर उचाइ अवस्थित धौलागिरि आइसफल दहबुकी डाँडासँग जोडिएको छ । कालीबराह पुगेपछि माथि जान सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । 

बेनीनगरपालिका–९ गलेश्वरबाट सुरु हुने पदमार्गले जिल्लाका पिप्ले, भगवती, वेग, दोबा, दग्नाम, चिमखोला र कुइनेमङ्गले र मुस्ताङको लेते र कोबाङलाई समेटेको छ । विदेशी पर्यटकका लागि कालीबराहबाट मुस्ताङ निस्कने गरी सात दिनको प्याकेज तथा आन्तरिक पर्यटकका लागि तीन दिनको प्याकेज बनाउन लागिएको उपभोक्ता समितिका सल्लाहकार देवेन्द्र केसीले जानकारी दिनुभयो । 

“ट्रयाक नभएको ठाउँ खोल्ने, विभिन्न स्थानमा पर्यटकका लागि पदचिह्न बनाउने काम भइरहेको छ ।” घनाजङ्गलमा भेटिने घोरल, चितुवा, मृग, डाँफे मुनाल, थरीथरी रङका लालीगुराँस, भेडागोठ, अग्लाअग्ला नाङ्गा पर्वत, दहब्की ताल, धौलागिरि र अन्नपूर्ण हिमालको रेञ्ज र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन् । पदमार्गले समेटिएको राखु र भगवती क्षेत्रका स्थानीयले पदमार्गलाई लक्षित गर्दै होमस्टे (घरबास) सञ्चालनको तयारी गरिरहेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!