बेनी–जोमसोम सडक अवरुद्ध

Posted on: 20 Apr, 2017

बैशाख ७, मुस्ताङ | बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो । 

बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन् । घन्टौं कुर्दासमेत पानी सतह नघटेपछि तिब्ल्याङ र बेनीमै फर्कन बाध्य भएको तिब्ल्याङका स्थानीयवासी प्रेम पुर्जाले जानकारी दिनुभयो । 

बेगखोलाको ठाडोखोलामा गत वर्षको भदौमा आएको भीषण बाढीले त्यहाँका १२ घर बगाउनुका साथै बेलिब्रिज पनि बगाएको थियो । माथिल्लो क्षेत्रमा वर्षा हुनेबित्तिकै बेगखोलामा बाढी आउने गरेको छ । बेनी–जोमसोम हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप उच्च छ । पोखरा, बेनी र काठमाडाँैबाट सिधा जोमसोम र मुक्तिनाथका लागि जिप र माइक्रोबस छुट्न थालेपछि सवारीमा यात्रा गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

चैत, वैशाख र जेठ मुस्ताङ भ्रमणको याम मानिन्छ । गत वर्ष बाढीले ल्याएका ठूल्ठूला ढुङ्गाले कालीगण्डकीको सतह माथि उठेको र वर्षा हुने बित्तिकै ठाडाखोलामा बाढी सडक अवरुद्ध हुने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

“सम्बन्धित निकायले यसको दीर्घकालीन पहल गरेको देखिएको छैन, बाढी कम भएपछि अस्थायी रुट बनाउने अनि सवारी सुचारु गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!