कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न

Posted on: 29 Sep, 2017

असोज १३, मुस्ताङ (रासस) |  हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । 

मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । 

दुई वर्षअघि देखि शुरु भएको कालोपत्रको काम दशैँअगाडि सम्पन्न भएको हो । १२ किमी लामो सडक कालोपत्र गरिएसँगै प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज भएको छ । 

जिल्लामा झण्डै २५० किमी सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडकखण्डमा कालोपत्र भएको छैन । कालोपत्र गर्नका लागि दुई महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो । साँघुरो सडक, मौसमको प्रतिकूलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोडको लागतमा कालोपत्र गरिएको तिवारीले जानकारीले दिनुभयो । 

जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्र भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्र गर्ने तयारी शुरु भएको छ । जिल्लाको सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकखण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडकखण्ड कालोपत्र नहुँदा सडक मार्ग हँुदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!