मुस्ताङमा बन्ने भयो सत्र करोडको लगानीमा रिसोर्ट

Posted on: 10 Oct, 2017

असोज २४, मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगँैचा र पार्किङस्थल निर्माण बाँकी छ । 

तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० कोठा भएको भवन निर्माण भएको लामाले जानकारी दिनुभयो । स्थानीयवासीसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर शुरु गरेको सो रिसोर्ट दुई चरणमा बन्नेछ । पहिलोचरणको काम ८० प्रतिशत सकिएको छ, भने दोस्रोचरणको काम रिसोर्ट सञ्चालनमा आएपछि शुरु हुनेछ । 

रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ । वरपर स्याउबारी समेत रहनेछ । पहिलोचरणमा रु १० करोड र दोस्रो चरणमा थप रु सात करोड लगानी हुनेछ । मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । 

लामाले रिसोर्टमा रोजगारका लागि स्थानीयवासीलाई नै पहिलो प्राथामिकता दिने बताउनुभयो । बेनी–जोमसोम–कागबेनी र मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

राउण्ड अन्नपूणअन्तर्गत पर्ने मुक्तिनाथमा तेस्रो मुलुकका पर्यटकको आवागमन पनि उल्लेख्य छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा लामाले नै ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गर्नुभएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!