कोरला नाका खुलाउन दुई देशबीच कूटनीतिक पहल

Posted on: 08 Feb, 2018

माघ २५, मुस्ताङ | कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । 

कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ । 

सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गर्नुभएको थियो । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेकोे जानकारी दिनुभयो । उहाँले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताउनुभयो । 

जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पु¥याउन आयोजनामार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ । बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररुपमा भइरहेको छ । 

कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडक मार्ग हो । कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरी चौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ । लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालय विसं २०७३ असारमा २१ वर्षपछि पुनःस्थापना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प तथा अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्त भइसकेको छ । लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब पाँच किलोमिटर उत्तरतर्फ सेनाको क्याम्प राख्न २०० रोपनी जग्गा उपलब्ध भएको र सो ठाउँमा सेनाले भवन निर्माण शुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङ्वासेन ४५ किलोमिटर टाढा रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!