धाैलागिरीमा 'ड्राइभिङ लाइसेन्स' अावेदन खुल्यो

Posted on: 12 Jan, 2017

पुस २८, बागलुङ | धाैलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो ।

मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा खुलेपछि सर्वसाधारण उत्साहित बनेका छन्। कार्यालयमा आवेदन दिनेको भीड लागेको अनुमति पत्र वितरण शाखाका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए।

मोटरसाइकल र स्कुटरपछि अन्य सवारी साधनका लागि अनुमति पत्र खुलाउने तयारी कार्यालयको छ। यातायात व्यवस्था विभागले नयाँ नीति अख्तियार गरेसँगै पूर्वाधारको कमीका कारण धवलागिरि अञ्चलबाट सबैखाले सवारी साधनको अनुमति पत्र वितरण कार्य रोकिएको थियो।

परीक्षा रोकिएपछि कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका थिए।

धाैलागिरिबासी अनुमति पत्रका लागि पोखरा, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता छ। कार्यालयले बागलुङ नगरपालिका–१ खनियाबासमा अभ्यास परीक्षाका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ। यसअघि कार्यालयले मासिक ८०० सवारी साधन अनुमति पत्र वितरण गर्दै आएको थियो। कार्यालयले साना, मझौला र ठूला गरी सबै सवारी साधनको क्रमशः अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने जनाएको छ। रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!