सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

Posted on: 10 Mar, 2019

फागुन २६, बेनी (रासस) | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनु राम्रो पक्ष रहेको छ ।” 

सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताउनुभयो । ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’’ उहाँले भन्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु पर्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पार्नुभयो । 

पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उहाँले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताउनुभयो । ‘‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म संधै तयार छु,’’ उहाँले भन्नुभयो । 

सभापति देउवाले नेविसङ्घभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विधानानुसार नै पार्टीलाई अघि बढाइने बताउनुभयो । 

सभापति देउवाले नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको बताउँदै देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नहुने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!