देउवाद्वारा पार्टी कार्यालय भवन शिलान्यास

Posted on: 11 Mar, 2019

फागुन २७, म्याग्दी | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज जलजला गाउँपालिका–४ मोहनचोकमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । 

मल्लाजका अगुवा मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काङ्ग्रेस जलजला गाउँपालिकाले सो भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि मल्ल परिवारले सत्र मिटर लम्बाइ तथा १५ मिटर चौडाइ भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको काङ्ग्रेस जलजला गाउँपालिका–३ का संयोजक रवी भण्डारीले जानकारी दिनुभयो । 

शिलान्यासपछि सभापति देउवाले सरकारले कार्यशैली सुधार नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाउनुभयो । सरकारको गैरजिम्मेवारीका कारण देशको शान्ति, सुरक्षा र लगानीको वातावरण बिथोलिएको उहाँको भनाइ थियो । सभापति देउवाले आन्तरिक एकतालाई बलियो बनाएर कम्युनिष्ट सरकारको गलत कामका विरुद्ध आन्दोलनमा उत्रिएर देशलाई भ्रष्टाचार मुक्त र सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताको बारेमा सरकारको धारणा माग गर्नुभयो । उहाँले सरकारको दाबी विपरित राउतले गतिविधि गरिरहेकाले प्रधानमन्त्री ओलीले सम्झौताबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । “देशलाई विखण्डन गर्ने सम्झौता र सहमति काङ्ग्रेसलाई सह्य हुन्न”, उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!