बाढीले म्याग्दीको भुरुङमा चार घर पुर्यो, सडक अवरुद्ध

Posted on: 14 May, 2018

वैशाख ३१ बाबियाचौर, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । 

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ । 

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पुर्याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ । 

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ । 

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन गरिरहेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताउनुभयो । 

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो । 

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पुर्याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!