इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन, मासिक ५० हजार आम्दानी

Posted on: 15 Apr, 2017


बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । 

म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको हो । 

३९ वर्षीय मल्लले सञ्चालन गरेको फार्ममा नयाँ शैली, प्रविधि र संरचनाको प्रयोग हुनुका साथै जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ्यालको प्रयोग गर्ने गरिन्छ । 

३० मिटर लम्बाइ र ५ दशमलव २ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टाछुट्टै कोठा रहेको सो फार्म अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिकरुपमा कृषक आउन थालेका छन् । मानिस बस्ने घरजस्तै सफासुग्घर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठा रहेका छन् । 

‘टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको बताउने मल्लले खोरलाई सरसफाइ, वातावरण अनुकूलित र व्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुने जानकारी दिनुभयो । 

बाख्रामा कुनै रोगको समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले बताउनुभयो ।  प्रविधि र यन्त्र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । मल्लले फार्मका बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक पेज र इन्टरनेटका माध्यबाट बेच्ने गरेका छन् । 

हाल मल्लको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा छन् । चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गर्नुभएका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजारको हाराहारीमा कमाइ गर्ने गरेका छन् । 

साढे तीन वर्ष इराकमा काम गरेर गाउँ फर्कनुभएका मल्लले बाख्रा फार्म स्थापना र पूर्वाधार तयार गर्न हालसम्म रु २५ लाख लगानी भएको जानकारी दिनुभयो । यस व्यवसायमा आफूबाहेक थप पाँच जनालाई रोजगारीसमेत दिएको मल्लले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!